काठमाडौँ, १२ मङ्सिर — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र यकिन गरिँदै गर्दा म्यादी अस्थायी प्रहरीको सङ्ख्या बढाउन तयारी थालिएको छ। नयाँ मतदाता उल्लेख्य रूपमा वृद्धि भएपछि एकीकृत सुरक्षा योजनाअनुसार करिब १ लाख ३२ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ।


गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नेपाल प्रहरीले शीघ्र म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने बताए। मतदान केन्द्रको सुरक्षासम्बन्धी संवेदनशीलता हेरेर जिल्ला सुरक्षा समितिमार्फत भर्ना अघि बढाइने छ।
निर्वाचनका लागि म्यादी प्रहरीले ४० दिन खटिनेछन् र प्रहरी जवानसरह तलब, पोसाक, यातायात खर्च पाउनेछन्। नेपाल प्रहरीले यसपटक ७१ हजारभन्दा बढी स्थायी प्रहरी खटाउने तयारी गरेको छ।
सुरक्षा व्यवस्था तीन तहमा हुनेछ—पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना, जसको परिचालन स्वीकृति भइसकेको छ।
यसपटक ८ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएसँगै कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३ पुगेको छ। आयोगले त्रुटि सच्याउने समयपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ।





