१८ जेठ २०८३ तुर्माखाँद (अछाम) — अछामको तुर्माखाँद गाउँपालिकाको स्वास्थ्य शाखा र पालिकाको वडा नम्बर – १ रहफमा आयोजना गरिएको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ५४ जना दाजुभाइ तथा दिदीबहिनीले सेवा लिएका छन्। कोहलपुर डेन्टल अस्पतालले आयोजना गरेको उक्त शिविरमा स्थानीयवासीले स्वास्थ्य परीक्षण, उपचार तथा औषधि सेवा नि:शुल्क पाएका हुन्।
अस्पतालका अनुसार शिविरमा महिला ३३० र पुरुष १३४ गरी ४६४ जनाले प्रत्यक्ष सेवा लिएका थिए भने तुर्माखाँद क्षेत्रबाट थप ५९० जना गरी जम्मा १०५४ बिरामीले स्वास्थ्य परीक्षण र उपचार सेवा प्राप्त गरेको छ।
शिविरमा दाँत, आँखा, पाठेघर, मुटु, दम, नाक, कान र घाँटीसम्बन्धी समस्या भएका बिरामी सबैभन्दा धेरै रहेको अस्पतालका निर्देशक गजेन्द्र बहादुर शाहीले जानकारी दिए। उनले पालिकाले विश्वास गरेर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहकार्य गरेकोमा पालिका प्रमुखसहित सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गरे।
यस्तै पालिका अध्यक्ष डम्बर बिसिले दुर्गम क्षेत्रमा आएर गुणस्तरीय विशेषज्ञसहित नि:शुल्क शिविर सञ्चालन गरी नागरिकमा स्वास्थ्य सचेतना जगाइदिएकोमा अस्पताल र शिविरमा संलग्न सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहजै विशेषज्ञ सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।


शिविरमा सेवा लिएका तथा रेफर भएका बिरामीले अस्पतालमा आएमा ५० देखि ८० प्रतिशतसम्म उपचार शुल्कमा छुट पाउने निर्देशक शाहीले बताएका छन्। उनले भने, “हामीले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई प्राथमिकतामा राखेर उपचार खर्चमा छुट दिने व्यवस्था मिलाएका छौं।
स्थानीयवासीले दुर्गम पहाडी जिल्लामा विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। शिविरमा आएकि रहफकी एक स्थानीय महिलाले भनिन्, “लामो समयदेखि दाँत र आँखाको समस्याले ग्रस्त थिएँ।
तर शहर पुग्न धेरै खर्च लाग्ने भएकाले उपचार गराउन सकेकी थिइनँ। आज आफ्नै ठाउँमा ठुला डाक्टरले नि:शुल्क सेवा दिएपछि धेरै राहत मिलेको छ।”
शिविर सञ्चालनमा कोहलपुर डेन्टल अस्पतालका वरिष्ठ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको दक्ष टिम सेवामा खटेको थियो। अस्पतालले निकट भविष्यमा अन्य दुर्गम क्षेत्रमा पनि यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको निर्देशक शाहीले बताए ।






