कोहलपुर ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा २ हजार ४ सय ९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको हो।
सूचनाअनुसार निर्वाचन प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल) पदका लागि बाँके जिल्लामा २४९१ जनाको माग संख्या तोकिएको छ। इच्छुक नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म कार्यालय समयभित्र दरखास्त फाराम दर्ता गर्न सक्नेछन्।
दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र भगवानपुर, साथै सशस्त्र प्रहरी बल, नेपालका सम्बन्धित गणहरूबाट प्राप्त गरी सोही स्थानमै बुझाउन सकिने व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी भवानीयापुर तथा ४२ रिजर्भ गण शमसेरगन्जबाट पनि फाराम भर्न सकिनेछ।
भर्नाका लागि आवेदन दिने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै पनि राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको हुनुपर्ने लगायतका योग्यता तोकिएको छ। उमेर हदका हिसाबले दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै उचाइ, तौल र स्वास्थ्यसम्बन्धी मापदण्ड पनि तोकिएका छन्। महिलाका हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान राखिएको छ।
निर्वाचन प्रहरी छनोट प्रक्रिया अन्तर्गत सम्पर्क माघ ४ गते तोकिएको छ। छनोटसम्बन्धी अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिने र छनोटमा परेकाहरूका लागि माघ १५ गतेदेखि तालिम सञ्चालन हुने सूचनामा उल्लेख छ।
निर्वाचन प्रहरीको कार्यावधि नियुक्ति मितिले जम्मा ४० दिन रहनेछ। निर्वाचन अवधिमा आवश्यकताअनुसार नेपाल सरकारको निर्णय बमोजिम कार्यावधि हेरफेर हुन सक्ने पनि सूचनामा जनाइएको छ।







