२०८२ असार ३२ काभ्रेपलाञ्चोक —
विशेष सूचनाको आधारमा प्रहरीले काभ्रेको नगरकोटस्थित एक होटलमा सञ्चालनमा रहेको अनलाइन सट्टाबाजी (जुवा) अपरेशनलाई भण्डाफोर गरेको छ। घटनास्थलबाट पाँच जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, मण्डनदेउपुर नगरपालिका–७ मा रहेको नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पीस रेस्टुरेन्टमा अनलाइन सट्टाबाजी चलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी अधिकृतसहितको टोली परिचालन गरिएको थियो।


प्रहरी टोली हिजो दिउँसो करिब २:३० बजे सो होटलमा खटिएको थियो। होटलमा तलासी गर्दा पाँच जना व्यक्ति अनलाइन जुवामा संलग्न रहेको भेटिएको हो। उनीहरूको साथबाट ५ थान ल्यापटप र १८ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा दिगज नकर्मी, सञ्जीव कुशी, रोशन प्रजापति, एलिस कुश्म र रोजन महर्जन रहेका छन्।
हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिनुभयो। घटनासम्बन्धी थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।





