बाँके जिल्लामा अपराध नियन्त्रणको अभियान प्रभावकारी बन्दै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय बाँकेले सयौं फरार अभियुक्तलाई पक्राउ गर्दै करोडौंको जरिवाना असुली तथा ठूला परिमाणमा अवैध सामान बरामद गरेको छ।
प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, वर्षभरिमा फरार रहेका ६३९ जना प्रतिवादीहरूलाई पक्राउ गर्दै १८९ वर्ष ८ महिना १ दिनको कैद सजाय र २ करोड १८ लाख ३५ हजार ६३२ रुपैयाँ जरिवाना असुल गरिएको हो।


४ करोडभन्दा बढीको अवैध सामग्री नियन्त्रणमा
भन्सार छलि गरी ल्याइएका ४ करोड ३ लाख ८३ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएका छन्। तीमध्ये ६ वटा जीप/कार, १० मोटरसाइकल र २१ जना संलग्न व्यक्ति नियन्त्रणमा लिइएका छन्।
प्रतिबन्धित नोट र हुण्डी कारोबारमा कडाइ
प्रहरीको अपरेसनमा ६ लाख २१ हजार रुपैयाँ बराबरको प्रतिबन्धित भारतीय नोट बरामद भई राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ। यस्तै ४०७ ग्राम सुन, १० किलो ६१३ ग्राम चाँदीसहित हुण्डी कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रणतर्फ २९८ पक्राउ
ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम लगायतका लागुऔषध ओसारपसारमा संलग्न २९८ जना पक्राउ परेका छन्। यो अवधिमा ११३ किलो गाँजा, ३ किलो ब्राउन सुगर, र ३६१३ ट्याब्लेट नाइट्राजेपाम बरामद गरिएको हो।
गम्भीर अपराध र ठगीमा तीव्र कारबाही
सामूहिक बलात्कार, हत्या, नक्कली कागजात बनाएर ठगी लगायत जघन्य अपराधमा संलग्न २० भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले कानुनी कारबाहीमा ल्याएको छ।
३७ हजार ट्राफिक कारबाही, ३ करोड राजस्व
सवारी नियम उल्लङ्घन गर्ने ३७,४३५ सवारी साधनमाथि कारबाही गर्दै प्रहरीद्वारा ३ करोड २ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
महिला, बालबालिका र जेष्ठ नागरिकको उद्धार
हराइरहेका ५१४ महिला, बालबालिका र जेष्ठ नागरिकलाई परिवारमा पुनः मिलाइदिएको छ भने ९०७ जनालाई सीमा नाकाबाट उद्धार गरिएको छ। ९४ जना अलपत्र अवस्थाका व्यक्तिहरू संरक्षण संस्थामा पठाइएको छ।
१०९४ सचेतनामूलक कार्यक्रम सञ्चालन
लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, आत्महत्या, ट्राफिक जनचेतना लगायत १०९४ वटा कार्यक्रम सञ्चालन गरिएका छन्। ट्राफिक सचेतनामात्र २६२४ कार्यक्रम गरिएको छ।
प्रहरी भित्रको सुधार र पुरस्कार
प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा प्रहरी कर्मचारीहरूलाई व्यवहार, आचरण र सामाजिक सञ्जालको प्रयोगबारे तालिम दिइएको छ। उत्कृष्ट कार्य गर्ने ९३ प्रहरीलाई सम्मान गरिँदा, अनुशासन विपरीत कार्य गर्ने ११ जनालाई कारबाही गरिएको हो।

कोहलपुर प्रहरी कार्यालय उत्कृष्ट घोषित
नेपाल प्रहरीको कार्य दक्षता मूल्याङ्कन २०८१ अनुसार, कोहलपुर इलाका प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषणा गरिएको छ र प्रमाणपत्र पनि प्रदान गरिएको छ।





