रौतहट । अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ‘केवाईसी (KYC) अपडेट’ गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ असोज २३ गते अपराह्न करिब ४ बजे खटिएको प्रहरी टोलीले रौतहटको गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा नं. ५ स्थित कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्ला, बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ बस्ने १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए। त्यस क्रममा मोबाइलको स्क्रिन सेयर गर्न लगाई ओटीपी (OTP) लगायतका बैंकिङ विवरण प्राप्त गरी सेवाग्राहीको बैंक खाता तथा डिजिटल वालेटबाट अनधिकृत रूपमा रकम स्थानान्तरण गरेर ठगी गर्ने गरेको खुलेको छ।
नगद, मोबाइल र बैंकिङ कागजात बरामद
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ। त्यसैगरी, मोबाइल फोन ७ थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड ३ थान र चेक २ थान बरामद गरिएको छ।
बरामद गरिएका चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेका छन्। यसबाहेक चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायत सामग्रीसमेत फेला परेको प्रहरीले जनाएको छ।
ठगी तथा संगठित अपराधमा अनुसन्धान
हालसम्म केवाईसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह
बैंक तथा डिजिटल वालेटको केवाईसी अपडेट गर्ने नाममा आउने अपरिचित फोन वा भिडियो कलप्रति सचेत रहन आवश्यक छ। आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न, ओटीपी, पासवर्ड तथा बैंकिङ विवरण कसैलाई नदिन र शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा आधिकारिक सेवा प्रदायकसँग सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरिन्छ।






