काठमाडौं, — मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दलले मंगलबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। सरकारले ‘अपहरण शैलीमा’ गिरफ्तारी गरेको आरोप लगाउँदै दलले त्यसविरुद्ध तात्कालिक प्रतिवाद अनिवार्य भएको बताएको हो।


दलका अनुसार मंसिर ७ गतेका लागि तय गरिएको मुख्य प्रदर्शनअघि नै आन्दोलन प्रारम्भ गर्नुपर्ने बाध्यता प्रहरीले सिर्जना गरेको छ। “सरकारकै कदमले शान्ति भंग भएको छ, अब नागरिक प्रतिवाद अपरिहार्य छ,” दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रसाईलाई सोमबार राति काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो। उनी विगतदेखि नै विवादास्पद अभिव्यक्ति, राजावादी गतिविधि तथा हिंसात्मक आन्दोलन उक्साएको आरोपमा प्रहरीको निगरानीमा रहेका थिए।
गत चैत १५ मा हिंसा भड्किएको आरोपमा पक्राउ परेका प्रसाई अदालतको आदेशपछि रिहा भएका थिए। पछिल्लो समय बैंक ऋण मिनाहा, राजावादी एजेण्डा तथा विभिन्न सामाजिक-राजनीतिक माग राख्दै उनले मंसिर ७ गतेबाट आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। प्रहरीले यसपटक पनि उनी हिंसा उक्साउने अभिव्यक्ति दिइरहेको आधारमा नियन्त्रणमा लिएको बताइएको छ।
यसबीच, प्रसाईका समर्थकहरूले उनको गिरफ्तारी असंवैधानिक भएको दाबी गरेका छन् भने देशभर विभिन्न स्थानमा स्वतःस्फूर्त प्रदर्शन पनि शुरु भएको समाचार प्राप्त भएका छन्।





