कोहलपुर । बाँकेमा लागूऔषध कारोबारविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत १ किलो २० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार राति करिब १० बजे विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कोहलपुर नगरपालिका–१, कौशिलानगरस्थित बरपिपल प्रतीक्षालयबाट वैजनाथ गाउँपालिका–३, नौवस्ताका २९ वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको शरीर खानतलासी गर्दा रातो रङको प्लास्टिकभित्र लुकाइराखिएको अवस्थामा १ किलो २० ग्राम अफिम बरामद गरेको जनाएको छ। साथै, उनको साथबाट एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद अफिमको कारोबारमा कोहलपुर नगरपालिका–१, कौशिलानगर निवासी ४८ वर्षीय गगनबहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको जनाएको छ। परियारको साथबाट समेत एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद अफिम, मोबाइल फोन तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार ठूलो परिमाणमा अफिम बरामद हुनु बाँकेमा सक्रिय लागूऔषध सञ्जालविरुद्धको अभियानमा महत्वपूर्ण सफलता मानिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







