काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा औषधि व्यवस्थापनमा अनियमितता गरेको आरोपमा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


आयोगका अनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नभई बिल (बिजक) सफ्टवेयरमा प्रविष्टि गर्ने, म्याद गुज्रिएका औषधि फिर्ता नगर्ने, स्टक अभिलेख र वास्तविक मौज्दातबीच ठूलो अन्तर राख्ने तथा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा अन्य स्थानमा करोडौँ रुपैयाँ बराबरका म्याद गुज्रिएका औषधि थन्किएको, कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टोरमा नभएको तथा आर्थिक वर्षको अन्त्यमा अनिवार्य रूपमा तयार गर्नुपर्ने खरिद, बिक्री र मौज्दातको सन्तुलन परीक्षणसमेत नगरेको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार अस्पतालका कार्यकारी निर्देशकले सम्झौताअनुसार म्याद गुज्रिएका वा बिक्री नभएका औषधि तत्काल आपूर्तिकर्तालाई फिर्ता गरी शोधभर्ना लिन जिम्मेवारी तोकेका थिए। तर सम्बन्धित कर्मचारीहरूले उक्त निर्देशन पालना नगरेको आरोप छ।
यस्तै, म्याद सकिएका औषधि हुँदाहुँदै पनि फिर्ता गर्नुपर्ने औषधि नभएको भन्दै गलत लिखित जानकारी दिई आपूर्तिकर्ता कम्पनीहरूको धरौटी रकमसमेत कट्टा नगरी फिर्ता गरिएको आयोगको निष्कर्ष छ।
यसबाट नेपाल सरकारको स्वामित्वमा रहेको निजामती कर्मचारी अस्पताललाई २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको आयोगले जनाएको छ।
यस प्रकरणमा अख्तियारले फार्मेसी अधिकृत तथा फार्मेसी इन्चार्ज दिपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लबेन्द्र कुँवर, दिनेश पन्त र दिपक सापकोटा, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायकहरू विनोद पोखरेल र शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायकहरू केशवराज न्यौपाने र सन्दिप तिवारीलाई प्रतिवादी बनाएको छ।





