काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेपछि पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकविरुद्ध कडा व्यवस्था लागू गरिएको छ। अब ट्राफिक जरिबाना नतिर्ने चालकले यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने विभिन्न सेवा, विशेषगरी सवारीसाधन खरिद–बिक्रीसम्बन्धी सेवा लिन नपाउने भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया सुरु भएयता हालसम्म जरिबाना नतिर्ने २ लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएको छ। सोही विवरणका आधारमा सम्बन्धित चालकलाई उपलब्ध गराइने सेवा रोक्का गरिएको हो।
एसपी सुवेदीले ट्राफिक कारबाहीमा परेका धेरै चालकले लामो समयसम्म जरिबाना नतिरेपछि आवश्यक कारबाहीका लागि उनीहरूको विवरण यातायात व्यवस्था विभाग तथा कार्यालयमा पठाइएको जानकारी दिए। उनका अनुसार ट्राफिक नियम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन र जरिबाना असुली सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो।
यस व्यवस्थासँगै जरिबाना नतिरेका सवारीधनीले सवारीसाधन नामसारी, खरिद–बिक्री, दर्ता नवीकरणलगायत यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सेवा लिन नपाउने भएका छन्। सम्बन्धित सेवा प्राप्त गर्नुअघि ट्राफिक जरिबाना पूर्ण रूपमा भुक्तानी गरेको हुनुपर्ने व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
यातायात व्यवस्था कार्यालयका अनुसार जरिबाना नतिर्ने सवारीधनीलाई मोबाइल सन्देश (SMS) मार्फत पनि जानकारी गराउन थालिएको छ। जरिबाना तिरेपछि मात्र रोक्का गरिएका सेवा पुनः उपलब्ध हुने व्यवस्था गरिएको छ।
सरोकारवाला निकायका अनुसार यो कदमले ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिमा कमी ल्याउनुका साथै जरिबाना असुलीलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ। साथै सवारी चालकलाई समयमै जरिबाना भुक्तानी गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।







