रुपन्देही । सूचना तथा प्रविधिको तीव्र विकाससँगै अपराध अनुसन्धान सहज बने पनि अपराधीहरूले आधुनिक प्रविधि र स्वचालित प्रणालीको प्रयोग बढाउँदै लगेपछि अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालिएको छ।


नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको आयोजनामा सोमबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय एकदिने अपराध अनुसन्धान समीक्षा गोष्ठीमा वक्ताहरूले अनुसन्धान प्रणालीलाई समयअनुकूल आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले सूचना तथा सञ्चार प्रविधिको विकासले अपराधको स्वरूप जटिल, प्रविधिमैत्री र सीमापार सञ्जालमा आधारित बन्दै गएको बताए। उनले सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन वित्तीय ठगी, साइबर बुलिङलगायत डिजिटल अपराधहरूले प्रहरी अनुसन्धान प्रणालीमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै अनुसन्धानमा कार्यरत प्रहरीको क्षमता विकास र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भएको बताए।
उनले नेपाल प्रहरीले व्यक्तिको जीउ, धन र मानवीय गरिमाविरुद्ध हुने अपराधप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै अपराध नियन्त्रण र सूचना सङ्कलनका लागि समुदाय–प्रहरी साझेदारीलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
रूपन्देही जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतले आपराधिक अनुसन्धान अत्यन्त संवेदनशील विषय भएकाले प्रहरीलाई पीडितको पहिलो न्यायाधीशका रूपमा जिम्मेवारीपूर्वक प्रमाण सङ्कलन गरी प्रभावकारी अनुसन्धान गर्नुपर्ने बताए।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराधका नयाँ स्वरूप र चुनौतीसँग जुध्न प्रहरी सङ्गठनले आफूलाई थप परिष्कृत गर्दै व्यवस्थापकीय सुधारमा ध्यान दिनुपर्ने बताए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अनुसन्धानका प्रत्येक प्रक्रिया विधिसम्मत, प्रमाणमा आधारित र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै एउटा सानो त्रुटिले पनि अनुसन्धानको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने बताए। उनले सङ्कलित प्रमाणले अदालतमा सत्य स्थापित गर्न सक्नु नै अनुसन्धानको वास्तविक सफलता हुने उल्लेख गरे।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीले साइबर अपराध, अनलाइन ठगी तथा क्रिप्टोसम्बन्धी अपराध बढ्दै गएको भन्दै प्रविधिमैत्री अनुसन्धान प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा वैशाख २०८३ सम्म दर्ता भएका करिब ७ हजार मुद्दामध्ये ५ हजार ६१६ मुद्दा अझै फर्स्योट हुन बाँकी छन्। साथै अदालतबाट दोषी ठहर भई फरार रहेका ७ हजार ८०५ जनामध्ये हालसम्म २ हजार ४ जना मात्रै पक्राउ परेका छन्।
गोष्ठीमा प्रदेशभरिका जिल्ला प्रहरी कार्यालय प्रमुख तथा अनुसन्धान अधिकारीहरूको सहभागिता रहेको थियो।





