काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास संकट समाधान गर्न नेपाल आयल निगम र ग्यास विक्रेताबीच ६ बुँदे सहमति भएको छ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालको नेतृत्वमा ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीबीच भएको बैठकले उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन संकटकालीन व्यवस्थापनका विभिन्न निर्णय गरेको हो।


सहमति अनुसार उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
संकटका बेला सीमित रहेको ग्यासको स्टक अत्यावश्यक उपभोक्तामा केन्द्रित गर्न ठूला होटल, रेस्टुरेन्ट, खाद्य उद्योग, कारखाना तथा व्यापारिक मललगायत व्यावसायिक प्रयोजनमा ग्यास बिक्रीमा रोक लगाइएको छ।
त्यस्तै, विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढी प्रभावित क्षेत्रमा सञ्चालित सेल्टरलाई ग्यास वितरणमा प्राथमिकता दिइने भएको छ।
काठमाडौंको कालीमाटीलगायत विभिन्न बिक्री डिपोमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्न थालेपछि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगम र विक्रेताबीच यस्तो संकटकालीन सहजीकरण गरिएको हो।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने आफ्नै ब्रान्डका सिलिन्डर डिलर वा उद्योगसँग समन्वय गरी तराईका उद्योगबाट रिफिल गरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन सक्नेछन्।
ग्यासको अनियमित वितरण तथा कालोबजारी नियन्त्रणका लागि निगमको ‘क्विक रेस्पोन्स टिम’ (द्रुत प्रतिक्रिया टोली) मा ग्यास विक्रेताका दुई जना प्रतिनिधिसमेत राख्ने सहमति भएको छ।
निगम र विक्रेताबीचको सहमतिपछि उपत्यकामा देखिएको ग्यास अभाव तथा उपभोक्ताको लामो लाइन क्रमशः व्यवस्थापन हुने अपेक्षा गरिएको छ।






