धनगढी । कैलालीमा सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र करिब एक किलो चरेस बरामद गरेको छ।
कैलारी गाउँपालिका–७ स्थित पुरानो भुईयाफाँटाको तीनकुने क्षेत्रमा गस्तीका क्रममा सशस्त्र प्रहरीले हतियार तथा लागूऔषध बरामद गरेको हो।


सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण कैलालीका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) भुईयाफाँटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले गएराति गस्ती गरिरहेको थियो। सो क्रममा टोलीले शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो।
सशस्त्र प्रहरी टोलीलाई देखेपछि केही व्यक्ति त्यहाँबाट फरार भएको र त्यसपछि शंकास्पद स्थानमा खोजतलास गर्दा बाटोछेउको झाडीमा कालो प्लास्टिकले बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल र अन्दाजी एक किलो चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद हतियार तथा लागूऔषध आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार कैलालीका सीमा क्षेत्रमा अवैध गतिविधि, लागूऔषध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।






