काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले ५१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्युरोको कोटेश्वरस्थित शाखाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त टोलीले बाँकेको कोहलपुर नगरपालिका–१० बाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट १०.०८ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।


पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा थप एक जनालाई नेपालगञ्ज उपमहानगरपालिका–३ बाट पक्राउ गरिएको थियो। उनको साथबाट ४०.७६ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरेले जनाएको छ।
ब्युरेका अनुसार पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही, बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहरुम थारु र नेपालगञ्ज उपमहानगरपालिका–३ का ३५ वर्षीय मोहम्मद रहिम अन्सारी रहेका छन्।
तीनै जनाको साथबाट कुल ५१.५४० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, नेपाली रुपैयाँ ९९ हजार, भारतीय रुपैयाँ १४ हजार तथा दुई थान मोटरसाइकल बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।





