धनुषा । धनुषामा लागुऔषध नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीयको समूहले लाठी–भाटासहित आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले घटनास्थलबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको जनाएको छ।
आइतबार साँझ विदेह नगरपालिका–८ बफैमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार मण्डलको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद भएको छ। लागुऔषधको किनबेच भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो।
प्रहरी टोलीले कारबाही अघि बढाउने क्रममा स्थानीय ७–८ जनाको समूहले लाठी, भाटालगायतका सामग्री प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
घटनामा एक जना प्रहरीसमेत घाइते भएको जनाइएको छ।
पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनामा संलग्न अन्य ७ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।






