बाँके । लामो समय नेपाली पत्रकारितामा सक्रिय रहेर नागरिकका आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउँदै आएका पोषण केसी अहिले नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सभापति पदका उम्मेदवार बनेका छन्। पत्रकारिताबाट सुरु भएको उनको सार्वजनिक यात्रा अहिले पार्टी संगठनको नेतृत्व गर्ने मोडमा आइपुगेको छ।
स्थानीय नागरिकका समस्या, राजनीतिक गतिविधि र सार्वजनिक सरोकारका विषयलाई नजिकबाट नियाल्दै आएका केसीले पत्रकारितामा आफ्नो कर्मशील समय बिताएको बताइन्छ। केसिले पत्रकारका रूपमा केवल समाचार लेख्नेभन्दा पनि नागरिकका समस्या र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने भूमिकालाई प्राथमिकता दिएको उनका सहकर्मी तथा समर्थकहरूको भनाइ छ।
यही सार्वजनिक सक्रियता विस्तार हुँदै जाँदा केसी स्थानीय राजनीतिमा समेत प्रभावशाली भूमिकामा देखिदै आएका ब्याक्तित्व हुन । स्थानीय तहको निर्वाचनमा आफ्नो क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन उनले निर्वाह गरेको भूमिकालाई समर्थकहरूले उनको संगठन निर्माण र समन्वय क्षमतासँग जोडेर हेरेका छन्।
पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मका उम्मेदवारलाई निर्वाचनमा सफलता दिलाउन भूमिका खेलेका केसि निर्वाचनपछि पनि उनीहरूबीचको सहकार्य र समन्वयलाई निरन्तरता दिँदै आएको बुझिन्छ ।
तर केसीको राजनीतिक यात्रा स्थानीय तहमा मात्रै सीमित छैन , स्थानीय मुद्दादेखि केन्द्रसम्मका राजनीतिक विषयमा आफ्नो प्रभाव र सम्बन्ध विस्तार गर्दै आएका कारण उनी राष्ट्रिय राजनीतिसँग पनि जोडिँदै आएका छन्। स्थानीय तहमा संगठन निर्माण गर्ने र केन्द्रमा राजनीतिक सम्बन्ध स्थापित गर्ने उनको प्रयासलाई समर्थकहरूले उनको नेतृत्व यात्राको आधार मान्ने गरेका छन्।
आफूले अघि बढाएकैसँग प्रतिस्पर्धा ;
केसीको वर्तमान उम्मेदवारीको अर्को रोचक पक्ष भनेको उनले विगतमा राजनीतिक यात्रामा सहयोग र संरक्षण गरेका व्यक्तिहरूसँगै अहिले नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु हो।
राजनीतिमा आफूभन्दा अगाडि बढेका व्यक्तिलाई रोक्नेभन्दा अघि बढाउनुपर्ने मान्यता राख्ने गरेको बताउने केसी अहिले उनीहरूकै बीचबाट मत मागिरहेका छन्। यही कारण उनको उम्मेदवारीलाई समर्थकहरूले व्यक्तिगत महत्वाकांक्षाभन्दा संगठनभित्र सहअस्तित्व र नेतृत्व विकासको निरन्तरतासँग जोडेर व्याख्या गरेका छन्।
उनको पक्षमा देखिएको अर्को तर्क हो—समान व्यवहार। पार्टीभित्र आफू नजिक र टाढा भन्ने विभाजन नगरी सबै कार्यकर्तालाई समान दृष्टिले हेर्नुपर्ने उनको धारणा रहेको समर्थकहरू बताउँछन्।
पत्रकारिताको अनुभव, संगठन नेतृत्वको चुनौती
पत्रकारितामा नागरिकको आवाज सुन्ने, तथ्य खोज्ने र प्रश्न गर्ने अभ्यास गरेका केसीका लागि पार्टी संगठनको नेतृत्व भने नयाँ प्रकृतिको जिम्मेवारी हो।
पत्रकारितामा प्रश्न उठाउनु र राजनीतिक संगठनमा निर्णय गर्नु फरक विषय हुन्। त्यसैले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा उनले पत्रकारिताबाट प्राप्त अनुभवलाई संगठन व्यवस्थापन, कार्यकर्ता परिचालन, जनसम्पर्क र राजनीतिक समन्वयमा कसरी प्रयोग गर्छन् भन्ने विषय महत्वपूर्ण हुनेछ।
कांग्रेस क्षेत्र नं. १ मा नेतृत्वका लागि हुने प्रतिस्पर्धाले केवल नयाँ सभापति चयन गर्ने विषय मात्र नभई आगामी दिनको संगठनात्मक प्राथमिकता, कार्यकर्तासँगको सम्बन्ध र स्थानीय राजनीतिमा पार्टीको भूमिकालाई समेत प्रभावित गर्ने देखिन्छ।
केसीका समर्थकहरूको दाबीअनुसार उनीसँग स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक सम्बन्ध, लामो सार्वजनिक जीवनको अनुभव र संगठनमा विभिन्न पक्षलाई समेटेर अघि बढ्ने क्षमता छ। तर यी दाबीको वास्तविक परीक्षण भने निर्वाचनपछि नेतृत्व पाउने अवस्थामा उनको कार्यशैलीबाटै हुनेछ।
अब प्रश्न एउटा पदको मात्रै होइन ;
पोषण केसीका लागि यो निर्वाचन एउटा पद प्राप्त गर्ने प्रतिस्पर्धा मात्र होइन, लामो समय सार्वजनिक जीवनमा कमाएको अनुभवलाई पार्टी संगठनको नेतृत्वमा रूपान्तरण गर्ने अवसरका रूपमा पनि हेरिएको छ।
नागरिकको आवाज लेख्दै आएका पत्रकारबाट राजनीतिक संगठनको नेतृत्वकर्तासम्मको यात्रा तय गरेका केसीले अब आफूले उठाउँदै आएको समान व्यवहार, सहअस्तित्व, समन्वय र नेतृत्व विकासको राजनीतिक संस्कारलाई व्यवहारमा कति उतार्न सक्छन्, त्यसले उनको नेतृत्वको वास्तविक मूल्यांकन गर्नेछ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सभापति पदका लागि हुने प्रतिस्पर्धाले एउटा व्यक्तिको राजनीतिक भविष्य मात्र होइन, क्षेत्रीय संगठनले आगामी दिनमा कस्तो नेतृत्व र कार्यशैली खोजेको छ भन्ने संकेतसमेत दिनेछ।








