बाँके । ब्ल्याकमेलिङ गरी आर्थिक तथा जिन्सी लाभ लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।
प्रहरीका अनुसार श्रेष्ठले बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई हनी ट्रयापमा पारी प्रेम तथा शारीरिक सम्बन्धको जालमा फसाएको आरोप छ। त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास तथा धाकधम्की दिएर पटक–पटक नगद तथा जिन्सी सामान लिएको भन्दै ती पुरुषले प्रहरीमा उजुरी दिएका थिए।
ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिने पूर्वयोजनाअनुसार ती पुरुषलाई जालमा पारेर रकम तथा सामान असुल गरेको आरोपमा अनुसन्धान गर्ने क्रममा श्रेष्ठलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरले जानकारी दिए।
पक्राउ परेकी श्रेष्ठलाई बाँके ल्याएर घटनाबारे थप अनुसन्धान गरिने र अनुसन्धानपछि प्रचलित कानुनबमोजिम मुद्दा दायर गरिने डीएसपी राठौरले बताए।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू तथा ब्ल्याकमेलिङका क्रममा भएको आर्थिक र जिन्सी कारोबारबारे समेत थप अनुसन्धान भइरहेको जनाएको छ।








