बाँके— सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यान्वयन सन्दर्भमा पीडितहरूको आलोचनात्मक सहभागिता सुनिश्चित गर्नुपर्ने आवाज उठ्दै गएको छ। यसै सन्दर्भमा द्वन्द्वपीडित अगुवाहरूको एक महत्वपूर्ण भेला बाँके जिल्लाको कोहलपुरमा सम्पन्न भएको छ।


२०८२ साल साउन ११ गते आयोजना गरिएको उक्त भेलामा भुइँतहका पीडितहरूको राष्ट्रिय सञ्जालको अगुवाइमा विभिन्न जिल्लाबाट आएका पीडित प्रतिनिधिहरूले टीआरसी र बेपत्ता आयोगप्रति गहिरो चिन्ता व्यक्त गर्दै, आयोगको प्रक्रिया र गतिविधिमा पीडितकेन्द्रित दृष्टिकोण अपनाइनुपर्ने धारणा राखे।
कार्यक्रममा भागिराम चौधरी प्रमुख अतिथि रूपमा सहभागी हुनुहुन्थ्यो भने भेलाको संयोजकत्व देव बि. डिसीले सम्हाल्नुभएको थियो। सहभागीहरूले आयोगहरूका विगतका कमजोरीहरू, राजनीतिक हस्तक्षेप, र पीडितको उचित सहभागिताविना हुने प्रक्रियाले न्याय सुनिश्चित नहुने स्पष्ट रूपमा औंल्याए।
भेलामा वक्ताहरूले भने,
“दशकौं बितिसक्दा पनि पीडितहरूले न्याय, क्षतिपूर्ति र सम्मानजनक पुनर्स्थापनाको प्रत्याभूति पाउन सकेका छैनन्। आयोगहरूलाई ‘टिकाउ समाधान’ ल्याउने गरी पुनःसंरचना गर्नुपर्ने समय आएको छ।”
कार्यक्रममा स्थानीय र राष्ट्रिय तहका द्वन्द्वपीडित अगुवाहरू, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।






