
कोहलपुर, बाँके – मंसिर ७, २०८२ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले क्याम्पसमा देखिँदै आएका विभिन्न शैक्षिक अव्यवस्थाहरू तत्काल सुधार्न माग गर्दै आज क्याम्पस प्रमुखलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।


अनेरास्ववियुले आफूहरू नेपाली विद्यार्थी आन्दोलनको अग्रणी र जिम्मेवार संगठन भएको जिकिर गर्दै राष्ट्रिय तथा स्थानीय तहमा विभिन्न चरणका आन्दोलन र पहलबाट महत्वपूर्ण परिवर्तनहरू स्थापित गर्न सफल भएको उल्लेख गरेको छ। त्यसैको निरन्तरतामा क्याम्पसभित्रका समस्याहरू उठान गरी समाधानका लागि रचनात्मक दबाब सिर्जना गरिएको जनाएको छ।
विद्यार्थी संगठनका मागहरू यसप्रकार छन्ः
१) दैनिक पाठ्ययोजना अनुसार नियमित कक्षाहरू सञ्चालन गरिनु पर्ने।
२) छात्रवृत्ति फारम समयमै खुला गर्ने र नतिजा तोकिएकै समयमा प्रकाशित गर्ने व्यवस्था सुनिश्चित गर्ने।
३) क्याम्पसमा बारम्बार देखिँने इन्टरनेट समस्या तुरुन्त समाधान गर्ने।
४) व्यवस्थित खेलकुद मैदान निर्माण गरी आवश्यक सामग्री उपलब्ध गराउने।
५) स्ववियु चुनाव लामो समयदेखि नहुँदा विद्यार्थी प्रतिनिधित्व खुम्चिएको भन्दै छिटोभन्दा छिटो निर्वाचन गराउन विश्वविद्यालयसँग समन्वय गर्ने।
ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष कुमार शाहीले विद्यार्थी हक–अधिकार र क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो संगठन निरन्तर सचेत र सक्रिय रहेको बताए।
त्यस्तै, निवर्तमान स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाको नेतृत्वकालमा पनि क्याम्पसमा उल्लेखनीय रचनात्मक सुधारहरू भएको समस्त क्याम्पस र समस्त बिद्यार्थी हरु माझ पनि बोध रहेको र त्यही निरन्तरतामा अझ प्रभावकारी कदम चाल्दै जाने प्रतिबद्धता जनाएको छ।






