२७ मंसिर २०८२ नेपालगञ्ज ; बाँके जिल्लामा ट्राफिक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ‘चमत्कार साप्ताहिक’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावकारी जनचेतनामूलक तथा अनुशासनात्मक गतिविधि सञ्चालन गरिरहेको छ। साप्ताहिक रूपमा मनाइँदै आएको उक्त कार्यक्रमले सवारी चालक, यात्रु तथा सर्वसाधारणमा ट्राफिक सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।
कार्यक्रमअन्तर्गत ट्राफिक नियम पालन गर्ने चालकलाई धन्यवाद ज्ञापन, हेल्मेट तथा सिटबेल्ट प्रयोगको अनुगमन, मदिरा सेवन गरी सवारी चलाउनेमाथि कडाइका साथ कार्बाहि विद्यालय तथा सार्वजनिक स्थानमा सचेतना कक्षा, जेब्रा क्रस र लेन अनुशासनसम्बन्धी प्रशिक्षण जस्ता गतिविधि सञ्चालन गरिँदै आएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार पछिल्लो समय सवारी दुर्घटनामा क्रमशः कमी आएको तथ्यांकले देखाएको छ। ‘चमत्कार साप्ताहिक’ अभियानले कारबाहीभन्दा पनि सचेतनालाई प्राथमिकता दिँदा चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन आएको प्रहरीको भनाइ छ।
स्थानीय नागरिक, यातायात व्यवसायी र विद्यार्थीहरू समेत कार्यक्रममा सहभागी हुँदै आएको हुँदा यसले सामुदायिक सहकार्यलाई समेत मजबुत बनाएको छ। सर्वसाधारणले बाँके ट्राफिक प्रहरीको यसप्रकारको पहललाई उदाहरणीय भन्दै निरन्तरता दिन आग्रह गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आगामी दिनमा डिजिटल माध्यममार्फत सचेतना फैलाउने,जिल्लाका ग्रामीण क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्ने र दुर्घटना न्यूनीकरणलाई दीर्घकालीन उपलब्धिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
यधपी नगरिक समाजका अगुवाहरु समेतले भने यसरी, ‘चमत्कार साप्ताहिक’ सेलिब्रेसन बाँके जिल्लामा सुरक्षित सडक र जिम्मेवार सवारी संस्कृतिको विकासतर्फ अपरिहार्य अभियानका रूपमा स्थापित हुँदै जानु पर्नेमा जोडदिनु पर्ने बताउदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके लाई धन्यवाद समेत प्रकट गरेका छन।







