काठमाडौं । साबिकको नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का प्रभावशाली नेता वर्षमान पुनले लगातार दुई निर्वाचन जितेको क्षेत्र रोल्पा हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि नेकपा जिल्ला समितिले पुनको नाम पहिलो नम्बरमा राखेर उम्मेदवारका रूपमा सिफारिस गरेको छ। माओवादीको ऐतिहासिक आधार क्षेत्र मानिने रोल्पाबाटै पुन फेरि चुनावी प्रतिस्पर्धामा आउने सम्भावना बलियो देखिएको छ।
यसैबीच, रोल्पाबाटै नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि संसदीय निर्वाचन लड्ने निश्चित भएपछि यहाँको चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ। सशस्त्र जनयुद्ध अन्त्य गरी शान्ति प्रक्रियामा आएको करिब १९ वर्षपछि विप्लव पहिलो पटक संसदीय राजनीतिमा होमिन लागेका हुन्। बुधबार बसेको माओवादी जिल्ला समितिको बैठकले सर्वसम्मत रूपमा फागुन २१ को निर्वाचनका लागि विप्लवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।


स्थायी घर रोल्पा भए पनि हाल कपिलवस्तुको शिवगढीमा बसोबास गर्दै आएका विप्लव रोल्पाबाटै उम्मेदवार बन्ने निश्चित भएको माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढाले बताएका छन्। बुढाका अनुसार उनी स्वयं उम्मेदवार नबन्ने र पार्टीका उम्मेदवारहरू, विशेषगरी विप्लवलाई जिताउन सक्रिय रूपमा लाग्नेछन्। “महासचिव रोल्पाबाट उम्मेदवार बन्ने पक्का भएको छ। म यसपटक उम्मेदवार बन्दिनँ,” उनले बताएका छन्।
माओवादी घटकको बलियो आधार क्षेत्रमै विप्लव उम्मेदवार बनेपछि वर्षमान पुनमाथि दबाब र चुनौती थपिने निश्चित देखिन्छ। पुन २०७४ र २०७९ सालका प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७३ सालको राज्य पुनर्संरचनापछि रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको हो। २०७४ सालमा एमाले–माओवादी चुनावी तालमेल हुँदा पुनले ४२ हजार ८४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरेका थिए। २०७९ मा भने माओवादी–कांग्रेस तालमेलका बीच पुनले ४१ हजार ७१४ मत ल्याउँदै एमालेका पूर्ण बुढामगरलाई हराएका थिए।
रोल्पाको राजनीतिक इतिहास हेर्दा यो क्षेत्र माओवादी आन्दोलनको केन्द्र रहँदै आएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट जयपुरी घर्ती र रोल्पा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका थिए। पछि उपनिर्वाचनमा सन्तोष बुढा निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा रोल्पा–१ बाट कृष्णबहादुर महरा र रोल्पा–२ बाट ओनसरी घर्ती विजयी भएका थिए। त्यसबेला वर्षमान पुन मोरङ–९ बाट प्रतिस्पर्धा गर्दै पराजित भएका थिए।
विप्लवको राजनीतिक यात्रा पनि उतारचढावपूर्ण छ। रोल्पामै जन्मिएका उनले विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्दै २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रत्यक्ष भूमिका खेले। माओवादीभित्र विभिन्न जिम्मेवारी सम्हालेका विप्लवले शान्ति प्रक्रियामा प्रवेश गर्ने नेतृत्वको निर्णयको तीव्र विरोध गरेका थिए। पछि पार्टी विभाजन हुँदै उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र पछि नेकपा गठन गरे। २०७९ सालमा उनले आवधिक निर्वाचन उपयोग गर्ने नीति लिएपछि पार्टीभित्र फेरि विभाजनसमेत भएको थियो।
हाल विप्लव नेतृत्वको पार्टी र साबिकको माओवादी केन्द्रबीच एकताको निर्णय भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। यद्यपि वामपन्थी ध्रुवीकरण र चुनावी तालमेलको सम्भावना खुला रहेको नेताहरू बताउँछन्। माओवादीका स्थायी समिति सदस्य बुढाका अनुसार पार्टी वामपन्थीहरूबीच व्यापक तालमेलको पक्षमा छ, तर त्यो सम्भव नभए एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिन पनि तयार छ।
वर्षमान पुन शान्ति प्रक्रियापछि पटक–पटक मन्त्री बनेका र अधिकांश निर्वाचन जितेका नेता हुन्। अर्कोतर्फ, विप्लवले अहिलेसम्म कुनै पनि राजकीय पद नलिएको र अब एक पटक सरकारको नेतृत्व गरेर देश चलाउने चाहना सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। यही कारण रोल्पामा हुने सम्भावित पुन–विप्लव प्रतिस्पर्धालाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।





