चितवन। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्सपेक्टर प्रदीप महत जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३७ वर्षीया एक महिलाले महतबाट पटक–पटक जबरजस्ती करणीमा परेको भन्दै माघ २३ गते जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै आरोपित इन्सपेक्टरलाई पक्राउ गरिएको डिएसपी रविन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार हाल महतलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। पीडित महिलाले दिएको जाहेरीमा इन्सपेक्टर महतले प्रहरी कार्यालयभित्रै कुटपिट गरी जबरजस्ती करणी गरेको दाबी गरिएको छ।
आफू बिरामी भएको जानकारी गराउँदा पनि आरोपितले मानवीय व्यवहार नदेखाएको महिलाको गुनासो रहेको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








