काठमाडौं। चन्द्रागिरी नगरपालिका–नागढुंगा नाकाबाट अत्याधुनिक ‘मेड इन यूएसए’ पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ निवासी ३० वर्षीय केयुर पुरी रहेका छन्।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान चन्द्रागिरी नगरपालिकास्थित मुख्य प्रवेशद्वार क्षेत्रमा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। चितवनबाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा एक थान पेस्तोल र चार राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
हातहतियारसहित फेला परेपछि कारमा सवार पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।








