काठमाडौं । नेपाली सेना ले प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो नाम जोडेर असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरू सुनियोजित रूपमा प्रसारित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
बुधबार सार्वजनिक गरिएको अपिलमार्फत सेनाले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न माध्यमबाट फैलाइएका यस्ता सूचनामा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “सुनियोजित ढङ्गबाट प्रसारित त्यस्ता भ्रामक सूचनाहरूमा विश्वास नगर्न र नगराउन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ।”
सेनाले आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना अनुसार कार्य भइरहेको स्पष्ट पारेको छ। साथै, आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सम्बन्धित सबै सुरक्षा अङ्ग तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।
निर्वाचनलाई स्वच्छ र विश्वसनीय ढङ्गले सम्पन्न गराउन सबै पक्ष एकीकृत रूपमा सक्रिय रहेको उल्लेख गर्दै सेनाले अनावश्यक भ्रममा नपर्न पुनः अपिल गरेको छ।








