काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पछिल्लो समय विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटनामा वृद्धि भएको जनाएको छ।


ब्यूरोका अनुसार कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट प्रयोगकर्ताहरूलाई भ्रामक सन्देश तथा एलर्ट पठाउने प्रवृत्ति बढ्दो क्रममा रहेको छ। यस्ता सन्देशहरूमा ‘फिसिङ लिङ्क’ समावेश हुने गरेका छन्, जसले प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरी बैंक खातामा अनधिकृत पहुँच पुर्याउने जोखिम सिर्जना गर्छ।
CIB का प्रवक्ता दिलीपकुमार गिरीले यस्ता शंकास्पद तथा अनधिकृत लिङ्कहरू नखोल्न र डिजिटल कारोबार गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
ब्यूरोले अपरिचित स्रोतबाट आएका लिंक, सन्देश वा एपहरू प्रयोग नगर्न, तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
विशेषज्ञहरूले पनि डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न र आधिकारिक माध्यमहरूबाट मात्र वित्तीय कारोबार गर्न सुझाव दिएका छन्।






