काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान सरकारको कदमविरुद्ध कडा प्रतिक्रिया जनाएको छ। पार्टीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौँ उपत्यकासहित देशभरका भूमिहीन र सुकुम्बासी बस्तीमाथि “डोजर आक्रमण” गरेको आरोप लगाएको हो।
पार्टीका अनुसार वैशाख १२ गतेदेखि सरकारद्वारा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्ती हटाउने कार्य गरिएको छ, जसलाई “निर्दयी दमन र अमानवीय व्यवहार” भनिएको छ। विज्ञप्तिमा यस्तो कार्यको घोर निन्दा तथा भर्त्सना गरिएको उल्लेख छ।
विज्ञप्तिमा सरकारलाई सुकुम्बासी तथा भूमिहीन समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरिएको छ। “गहिरो अध्ययन र तथ्यपूर्ण विश्लेषण बिना जनताको अस्थायी आवासमाथि डोजर चलाउनु सरकारको गैरजिम्मेवार र दमनकारी चरित्रको परिचायक हो,” विज्ञप्तिमा भनिएको छ।
यसैगरी, बस्ती हटाउने क्रममा भएको घटनामा इन्द्रबहादुर राईसहित २ जनाको मृत्यु भएको भन्दै पार्टीले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै घाइते तथा विस्थापितप्रति सहानुभूति जनाइएको छ।
पार्टीले भूमिहीन र सुकुम्बासी जनताको आन्दोलनलाई देशव्यापी समर्थन गर्ने घोषणा गर्दै सरकारसँग तत्काल वैकल्पिक बसोबास र भूमि व्यवस्थापनको माग गरेको छ।








