Friday, October 23, 2026

ताजा अपडेट

 

२७ बैशाख २०८३ काठमाडौँ ;- ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई मूर्त रूप दिन भौतिक पूर्वाधार मात्र पर्याप्त छैन; यसका लागि पारदर्शी वित्तीय प्रणाली, उत्तरदायी सार्वजनिक खर्च, प्रभावकारी कर प्रशासन र लगानीमैत्री वातावरण अपरिहार्य छन्। तर अहिलेको नेपाली अर्थतन्त्र सार्वजनिक ऋणको बढ्दो दबाब, कमजोर पूँजीगत खर्च, राजस्व संकलनमा चुनौती, सहकारी क्षेत्रको अस्थिरता तथा बैंकिङ जोखिम व्यवस्थापनको समस्यासँग जुधिरहेको छ। यस्तो विकट अवस्थामा एक मात्र आशाको किरण हुन्– चार्टर्ड एकाउन्टेन्टहरू।

विकसित राष्ट्रहरूको आर्थिक यात्राले स्पष्ट संकेत गर्छ- सिंगापुर, बेलायत, भारत, क्यानडा, अष्ट्रेलियाजस्ता मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरू निजी क्षेत्रमा मात्र सीमित छैनन्, बरु ती देशहरूको अर्थ मन्त्रालय, केन्द्रीय बैंक, राजस्व प्रशासन, पूँजी बजार नियामकदेखि नीति निर्माणको केन्द्रमा हुन्छन्। बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक वा भारतकी अर्थमन्त्री निर्मला सीतारमणको आर्थिक दक्षताले नीति निर्माणमा वित्तीय विज्ञको छाप स्पष्ट देखिन्छ। भारतको चार्टर्ड एकाउन्टेन्ट संस्थान (ICAI) ले लाखौं दक्ष जनशक्ति उत्पादन गरेर कर प्रणालीदेखि बैंकिङ सुधार, स्टार्टअप संस्कृतिदेखि कर्पोरेट सुशासनमा जुन योगदान दिएको छ, त्यसको उदाहरण नेपालले अनुसरण गर्नुपर्छ।

नेपालको सन्दर्भ : अहिले पनि नेपालको अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रकको कार्यालय, सेबोन र अन्य प्रमुख वित्तीय निकायहरूमा योग्य चार्टर्ड एकाउन्टेन्टहरूको पर्याप्त प्रतिनिधित्व छैन। यी निकायमा दक्षता र पारदर्शिता वृद्धि गर्न चार्टर्ड एकाउन्टेन्टहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म नेतृत्व दिन सक्नुपर्छ। उनीहरूले सरकारी खर्चको प्रभावकारिता मूल्यांकन, कर चुहावट नियन्त्रण, वैदेशिक लगानीका लागि भरपर्दो वित्तीय वातावरण तयारी, सहकारी तथा बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन, पूँजी बजार सुधार, भ्रष्टाचार नियन्त्रणमा वित्तीय फरेन्सिक र रोजगारी सिर्जनाका लागि उद्यमशीलता विकासमा सहकार्य गर्न सक्छन्।

नेपाललाई आर्थिक रूपमा अनुशासित, पारदर्शी र विश्वसनीय राष्ट्र बनाउने हो भने चार्टर्ड एकाउन्टेन्टको भूमिका विकल्प होइन, अपरिहार्यता हो। आज नेपाललाई राजनीतिक नेतृत्वसँगै आर्थिक नेतृत्वको उत्तिकै आवश्यकता छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) अन्तर्गतका दक्ष विज्ञहरू नै ती आधारस्तम्भ हुन्, जसले ऋण, बेरोजगारी, कमजोर लगानी र वित्तीय अव्यवस्थाको बीचमा पनि समृद्धिको बाटो देखाउन सक्छन्। केवल सडक, पुल, भवन मात्र समृद्धिको पर्याय हुँदैनन्- बलियो वित्तीय संरचना, उत्तरदायी कर प्रणाली र विश्वसनीय आर्थिक योजना नै साँचो पूर्वाधार हुन्, र ती पूर्वाधार निर्माणको जिम्मा चार्टर्ड एकाउन्टेन्टहरूको काँधमा हुनुपर्छ। त्यसैले अबको आवश्यकता : प्रत्येक वित्तीय निकायमा ‘चार्टर्ड एकाउन्टेन्ट अनिवार्य’ नीति बनाउन आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय