Friday, October 23, 2026

ताजा अपडेट

काठमाडौं । दानबहादुर कार्कीले नेपालको जटिल भूगोल, अव्यवस्थित सडक संरचना र कमजोर इन्जिनियरिङका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताएका छन्।
आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जथाभाबी निर्माण गरिएका सडक र ‘डोजर क्रान्ति’का नाममा खोलिएका ग्रामीण बाटो दुर्घटनाका प्रमुख कारणमध्ये रहेको उल्लेख गरे।
आईजीपी कार्कीले नेपालमा दैनिक औसतमा आठ जनासम्मले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताए। उनले सवारी दुर्घटनाका कारणमध्ये इन्जिनियरिङ पक्षलाई पनि गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले भने, “नेपालको भूगोल जटिल छ। यही भूगोलमा जसो–तसो निर्माण भएका ठूला–साना सडकमा सवारी साधन सञ्चालन भइरहेका छन्। अहिले औसतमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था छ। दुर्घटनाका विविध कारणमध्ये इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ।”
उनका अनुसार स्थानीय तहमा प्राविधिक मापदण्डबिना वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिको इच्छाअनुसार निर्माण गरिएका सडकले दुर्घटनाको जोखिम थप बढाएको छ। “गाउँगाउँमा जथाभावी डोजर प्रयोग गरेर बनाइएका बाटाहरू पनि दुर्घटनाको कारण बनेका छन् भन्ने स्वीकार गर्नुपर्छ,” उनले भने।
आईजीपी कार्कीले जलवायु परिवर्तनका कारण बाढी, पहिरो जस्ता विपद् बढ्दै जाँदा सडक सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले विकास निर्माणका मोडेल र सडक संरचनाबारे पुनर्विचार गर्नुपर्ने धारणा पनि राखे।
सवारी दुर्घटना न्यूनीकरणका लागि राज्य, यातायात व्यवसायी, श्रमिक संगठन तथा आम नागरिकबीच समन्वय र सामूहिक जिम्मेवारी आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी