बाँके । बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नगदसहित पक्राउ गरिएको जनाएको हो ।
प्रहरीका अनुसार २०८३ वैशाख २७ गते बैजनाथ गाउँपालिका–५ बनकटुवा क्षेत्रमा शंकास्पद अवस्थामा रहेका व्यक्तिलाई खानतलासी तथा चेकजाँच गर्ने क्रममा लागूऔषध र नगद बरामद गरिएको हो ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ बस्ने २१ वर्षीय गोविन्द बहादुर चौधरी रहेका छन् ।
उनको साथबाट ८६० मिलिग्राम शुद्ध तौलको ब्राउन सुगर र नेपाली रुपैयाँ ३ लाख ९५ हजार ८ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीमाथि लागूऔषध कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








