काठमाडौं । नेपाल प्रहरीले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत उजुरी तथा निवेदन दर्ता गर्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।
अब सर्वसाधारणले घर, कार्यालय वा जहाँसुकैबाट पनि मोबाइल एप प्रयोग गरी प्रहरीमा उजुरी दर्ता गर्न सक्ने भएका छन् ।
प्रहरीका अनुसार ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत घटना भएलगत्तै तत्काल जानकारी दिन, उजुरी दर्ता गर्न तथा त्यसको प्रगति ट्र्याक गर्न सकिने व्यवस्था गरिएको हो ।
यो सेवा प्रयोग गर्न एन्ड्रोइड प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइओएस प्रयोगकर्ताले ‘एप स्टोर’बाट ‘नेपाल पुलिस एप’ डाउनलोड गर्नुपर्नेछ । एप डाउनलोड गरेपछि प्रयोगकर्ताले नाम, मोबाइल नम्बर, इमेल र ठेगाना विवरण भरेर साइन अप गर्नुपर्नेछ । त्यसपछि इमेलमा प्राप्त हुने ओटीपी कोड भेरिफाई गरेपछि सेवा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
लगइन गरेपछि ‘उजुरी तथा निवेदन’ खण्डमा गई घटनाको प्रकार छनोट गर्नुपर्नेछ । त्यसपछि घटनाको विस्तृत विवरण लेख्दै म्यापमा घटना भएको स्थानसमेत उल्लेख गर्न सकिनेछ । साथै प्रमाणका रूपमा फोटो, भिडियो वा अडियो अपलोड गर्ने सुविधा पनि राखिएको छ ।
प्रहरीका अनुसार एपमार्फत पठाइएको उजुरी सीधै सम्बन्धित जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको ड्यासबोर्डमा पुग्नेछ । त्यसपछि घटनाको प्रकृतिअनुसार तत्काल अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइनेछ ।
त्यसैगरी, उजुरी दर्ता भएपछि सेवाग्राहीले आफ्नो निवेदनको अवस्था तथा भइरहेको कारबाहीको प्रगति एपमै हेर्न सक्नेछन् । आवश्यक परे प्रहरी र उजुरीकर्ताबीच च्याटमार्फत प्रत्यक्ष संवाद गर्न सकिने सुविधा पनि समावेश गरिएको छ ।
प्रहरीले यस प्रणालीले उजुरी प्रक्रिया छिटो, पारदर्शी र पहुँचयोग्य बन्ने विश्वास व्यक्त गरेको छ ।







