काठमाडौं । सिन्धुलीबाट १०० ग्रामभन्दा बढी खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु दुधकौशी गाउँपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोस्टमा चेकजाँचका क्रममा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वैशाख ८ गते दिउँसो करिब १ः४५ बजे झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ख ५५०० नम्बरको हायसलाई रोकी जाँच गरिएको थियो। उक्त हायस ओखलढुंगा लिखु गाउँपालिका–५ निवासी ४३ वर्षीय वीरबहादुर तामाङले चलाएका थिए।
चेकजाँचका क्रममा हायसको ९ नम्बर सिटमा सवार श्रेष्ठको साथमा रहेको रातो झोलाभित्र कालो प्लास्टिकमा बेरिएको काक्रो फेला परेको थियो। प्रहरीका अनुसार काक्रोभित्र लुकाइछिपाइ गरिएको अवस्थामा दुई वटा पोका भेटिएको र त्यसमा खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो।
बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित १०९.३२० ग्राम र प्लास्टिक बाहेक शुद्ध तौल १००.४२० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारी र प्रहरी निरीक्षक राजु केसी खत्रीको संयुक्त कमाण्डमा खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध यसअघि जबरजस्ती करणीसम्बन्धी मुद्दा समेत दर्ता भएको र उनी फरार सूचीमा रहेका व्यक्ति हुन्।







