सुर्खेत । सुर्खेत प्रहरीले स्रोत नखुलेको करिब ३ करोड रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना, लाखौं रुपैयाँ नगद र नगद गन्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखेर ब्याजमा नगद ऋण दिने गरेको गोप्य सूचनाका आधारमा आइतबार संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँसहित ठूलो परिमाणमा सुन–चाँदीका गरगहना बरामद गरेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्ज स्थायी घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएका ५२ वर्षीय श्याम सुन्दर अग्रवाल लाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अग्रवालको साथबाट नेपाली रुपैयाँ २१ लाख ११ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ८००, विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएका ५८ वटा पोका तथा डिब्बा तथा नगद गन्न प्रयोग हुने एक थान मेसिन बरामद गरिएको छ।
बरामद गरिएका सुन तथा चाँदीका गरगहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बरामद सामग्री नियन्त्रणमा लिइएको र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।







