काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजका लागि निर्धारित जिल्ला अधिवेशनका क्रममा विभिन्न जिल्लामा विवाद र तनाव उत्पन्न भएको दाबी गरिएको छ।
बाँकेमा जिल्ला सभापति पदका चार आकांक्षी उम्मेदवारबीच सहमति र तालमेलको प्रयास सफल हुन नसकेपछि प्रतिस्पर्धा थप रोचक बनेको बताइएको छ। उम्मेदवारहरूबीचको मतभेदका कारण अधिवेशनस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको स्रोतहरूको भनाइ छ।
यस्तै, पर्सामा जिल्ला अधिवेशनको मनोनयन दर्ताका क्रममा दुई पक्षबीच चर्काचर्की भएको दाबी गरिएको छ। विवाद बढ्दै जाँदा धकेलाधकेलको अवस्था समेत सिर्जना भएको बताइएको छ। यद्यपि घटनाबारे सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
उता, सुनसरीमा पनि बाँके र पर्सामा देखिएको जस्तै विवाद र असहमतिको अवस्था दोहोरिएको जनाइएको छ। नेतृत्व चयन प्रक्रियालाई लिएर विभिन्न समूहबीच मतभेद देखिएको स्थानीय स्रोतहरूले बताएका छन्।
रास्वपाको जिल्ला अधिवेशन देशभर सञ्चालन भइरहेका बेला केही जिल्लामा देखिएको विवादले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र गुटगत समीकरणलाई थप उजागर गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।







