Friday, October 23, 2026

ताजा अपडेट

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि एउटै जिल्लामा कार्यरत १५ जना प्रहरी कर्मचारीलाई अन्तरप्रदेश काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले जेठ २९ गते गरेको निर्णयअनुसार उनीहरूलाई अर्को आदेश नभएसम्मका लागि विभिन्न प्रदेश तथा जिल्लामा काज सरुवा गरिएको हो।
सरुवा सूचीमा कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सम्मका कर्मचारी समावेश छन्। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा कार्यरत कर्मचारीहरूलाई विभिन्न जिल्लामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा विभिन्न शक्ति केन्द्रसँगको निकटताका आधारमा वर्षौंदेखि एउटै जिल्लामा बसिरहेका प्रहरी कर्मचारीलाई हटाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको हो।
सरुवा सूचीअनुसार प्रहरी विपद् सुरक्षा गण महेन्द्रनगरमा कार्यरत वरिष्ठ सई राघवप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ। प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार किमाडीलाई जिल्ला प्रहरी कार्यालय पर्वत सरुवा गरिएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय विपीनगर, डोटीका असई गणेशसिंह कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय बैतडीका असई रविन्द्र धामीलाई जिल्ला प्रहरी कार्यालय मनाङ पठाइएको छ।
यसैगरी बैतडीको प्रहरी चौकी शङ्करपुरका हवलदार हरिदत्त भट्टलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर, कञ्चनपुरका हवलदार दीपेन्द्रप्रसाद जोशीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरधाम, दार्चुलाको इलाका प्रहरी कार्यालय लालीका हवलदार पूरण चन्दलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर तथा डोटीका हवलदार देवराज जोशीलाई नं. २ गण महाराजगञ्ज सरुवा गरिएको छ।
टीकापुरका हवलदार प्रकाश रोकायालाई जनकपुरधाम, हवलदार शिवकुमार गडरियालाई दुहबी (सुनसरी) तथा फूलबारीस्थित आशारा सुधार केन्द्रमा कार्यरत एक प्रहरी कर्मचारीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर पठाइएको छ।
यस्तै कञ्चनपुरका जवान ललितबहादुर जोरालाई रातोमाटे (मकवानपुर), खोचलेकका जवान वासुदेव भट्टलाई त्रिपुरेश्वर, बझाङका हरिसिंह धामीलाई नं. २ गण महाराजगञ्ज तथा बेलडाँडीका कार्यालय सहयोगी जमनसिंह ठगुन्नालाई विशेष सुरक्षा गण त्रिपुरेश्वर सरुवा गरिएको छ।
सरुवा भएका केही कर्मचारी नयाँ कार्यस्थलमा हाजिर भइसकेका छन् भने केही कर्मचारी जाने तयारीमा रहेका छन्। प्रहरी संगठनभित्र लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीको व्यवस्थापन तथा संगठनात्मक अनुशासन सुदृढ बनाउन यस्तो सरुवा गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय