सिन्धुपाल्चोक। नेपाल–चीन सीमा नाका तातोपानी हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोक प्रहरीले सञ्चालन गरेको विशेष निगरानी अभियानका क्रममा ७ हजार ७ सय थान भेपसहित एक जनालाई पक्राउ गरिएको हो।


प्रहरीका अनुसार असार ८ गते बिहान बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा शंकास्पद रूपमा गुडिरहेको एक बोलेरो गाडीलाई रोकेर जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको भेप फेला परेको थियो।
बरामद गरिएका भेप विभिन्न ब्राण्डका रहेको र ती अवैध रूपमा सीमापार गरी भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि भन्सार छली तथा अवैध सामान ओसारपसारसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बरामद भेपको अनुमानित बजार मूल्य करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ। सामान ढुवानीमा प्रयोग गरिएको प्रदेश ०३–००१ च १२१९ नम्बरको बोलेरो गाडीको मूल्यसमेत जोड्दा कुल करिब २ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको सामग्री तथा सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको बताउँदै यस्ता गतिविधिमा संलग्न नहुन तथा कुनै सूचना भए तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।





