काठमाडौं । प्रधानमन्त्रीको आलोचना गर्दै सामाजिक सञ्जाल युट्युबमा भिडियो सार्वजनिक गरेका कन्टेन्ट क्रियटर रोशन पोखरेललाई पाँचथर जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।


न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई थुनामा राखेर मुद्दाको अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएको हो।
पोखरेलले प्रधानमन्त्री र उनका परिवारलाई अपमान हुने शैलीमा भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोग छ। अदालतले सामाजिक सञ्जालमा धेरै भ्युज बटुल्ने उद्देश्यले प्रधानमन्त्री तथा उनको परिवारको प्रतिष्ठामा असर पुग्ने किसिमको सामग्री प्रसारण गरेको प्रारम्भिक आधार देखिएको उल्लेख गरेको छ।
उनले आफ्नो भिडियोमा प्रधानमन्त्रीकी पत्नी सवार गाडी ट्राफिक चेकजाँचमा परेपछि ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने व्यक्ति अहिले मुलुकको प्रधानमन्त्री बनेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए। साथै, उनले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’बारे पनि आलोचनात्मक अभिव्यक्ति दिएका थिए।
यस घटनापछि पोखरेल चैत २६ गते पक्राउ परेका थिए। अब उनीविरुद्धको मुद्दा थुनामै रहेर अघि बढ्नेछ।





