२४ असार २०८३ कोहलपुर, बाँके । मनसुन सक्रिय भएसँगै देशका विभिन्न राजमार्ग तथा ग्रामीण सडकमा पहिरो, डुबान, सडक कटान र दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढेको छ। यस्ता जोखिमलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेले वर्षायाममा सुरक्षित यात्रा सम्बन्धी जनचेतनामूलक सन्देश सार्वजनिक गर्दै यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक गरेको सन्देशमा “झरीको समयमा सडकको अवस्था र सवारीसाधनको कन्डिसन हेरेर मात्र यात्रा गरौं, पूर्ण र सही जानकारीका आधारमा सुरक्षित घर फर्कौं” भन्ने मूल नारालाई प्राथमिकता दिइएको छ।
प्रहरीका अनुसार वर्षायाममा सामान्य लापरबाहीले पनि ठूलो दुर्घटनाको रूप लिन सक्ने भएकाले यात्रुअघि सडकको अवस्था, मौसमको पूर्वानुमान तथा गन्तव्यसम्मको मार्गबारे जानकारी लिन आवश्यक छ। विशेष गरी पहिरोको जोखिम भएका क्षेत्र, खोलानाला उर्लिएको स्थान तथा डुबान भएका सडकमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने बताइएको छ।
त्यसैगरी सवारीसाधनको ब्रेक, टायर, लाइट, वाइपर, इन्जिन आयल लगायतका अत्यावश्यक प्रणालीको परीक्षण गरी मात्रै यात्रा गर्न, आवश्यक औजार तथा प्राथमिक उपचार सामग्री साथमा राख्न पनि आग्रह गरिएको छ।
ट्राफिक प्रहरीले चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, अनिवार्य रूपमा सिटबेल्ट तथा हेल्मेट प्रयोग गर्न, मोबाइल फोनको प्रयोग नगर्न र मदिरा सेवन गरेर सवारी नचलाउन विशेष अनुरोध गरेको छ। रातिको समयमा अत्यावश्यक अवस्था बाहेक लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक कनक ई. शाहीले वर्षायाममा सानो सावधानीले पनि ठूलो दुर्घटना रोक्न सकिने बताउँदै सबै चालक तथा यात्रुलाई जिम्मेवार र सचेत भएर यात्रा गर्न आग्रह गरेका छन्।
मनसुनको समयमा सुरक्षित यात्रा केवल व्यक्तिगत जिम्मेवारी मात्र नभई सामाजिक उत्तरदायित्व पनि हो। समयमै सूचना लिने, सवारीको प्राविधिक अवस्था जाँच गर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने बानीले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास ट्राफिक प्रहरीको छ।
“सचेत बनौं, सुरक्षित रहौं—आफ्नो र आफ्ना परिवारको जीवन बचाऔं। सुरक्षित यात्राको सुरुवात सुरक्षा सजगताबाट गरौं।”







