काठमाडौं । नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघको शान्ति अभियानलाई अझ प्रभावकारी, विश्वासिलो र परिणाममुखी बनाउन भाषा प्रशिक्षणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
“शक्ति गुणकको रूपमा भाषा: भाषा प्रशिक्षण मार्फत संयुक्त राष्ट्र शान्ति स्थापनालाई बलियो बनाउने” विषयक विशेष सत्रमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यसम्बन्धी उप–महासचिव जीन पियरे ल्याक्रोइक्ससँग प्यानल साझेदारी गर्दै आईजीपी कार्कीले नेपालले संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पुर्याउँदै आएको योगदानलाई अझ प्रभावकारी बनाउन भाषा दक्षतामा लगानी आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
कार्यक्रमका क्रममा संयुक्त राष्ट्र प्रहरी (UNPOL) का आधिकारिक सदस्यहरूसँग भएको छलफलमा भाषा प्रवीणताले सञ्चारलाई सहज बनाउने, स्थानीय समुदायसँग विश्वासको सम्बन्ध सुदृढ गर्ने, शान्ति सेनाबीच अन्तरसञ्चालन (Interoperability) बढाउने तथा संयुक्त राष्ट्रसंघका शान्ति अभियानहरूको समग्र प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको थियो।
आईजीपी कार्कीले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा सबैभन्दा ठूलो योगदान गर्ने सेना तथा प्रहरी राष्ट्रहरूमध्ये एक भएकाले भाषा प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र सहकार्यलाई थप मजबुत बनाउन दक्ष जनशक्ति उत्पादन तथा भाषा क्षमताको विकास अपरिहार्य रहेको बताए।
उनका अनुसार बहुभाषिक क्षमता भएका शान्ति सैनिक तथा प्रहरी कर्मचारीले स्थानीय समुदायसँग प्रभावकारी संवाद स्थापित गर्न सक्ने, सांस्कृतिक विविधतालाई सम्मान गर्दै जिम्मेवारी निर्वाह गर्न सक्ने तथा जटिल परिस्थितिमा पनि विश्वास निर्माण गर्दै शान्ति स्थापनाको उद्देश्य सफल बनाउन उल्लेखनीय योगदान पुर्याउनेछन्।
कार्यक्रममा सहभागीहरूले संयुक्त राष्ट्रसंघका शान्ति अभियानलाई थप प्रभावकारी, उत्तरदायी र समुदायमैत्री बनाउन भाषा प्रशिक्षणलाई दीर्घकालीन रणनीतिक लगानीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
नेपालले विगतदेखि नै संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा सेना तथा प्रहरीमार्फत उल्लेखनीय योगदान दिँदै आएको छ। भाषा दक्षता, व्यावसायिकता र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालले विश्व शान्ति र सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर सशक्त बनाइरहेको सन्देश पनि उक्त कार्यक्रममा व्यक्त गरिएको थियो।








