काठमाडौं । राजश्व चुहावट, भन्सार छली तथा सरकारी निकायमा हुने अनियमितता नियन्त्रणलाई प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान विभागले विशेष राजश्व इन्टेलिजेन्स ब्युरो गठन गरी सक्रिय रूपमा परिचालन गरेको छ।
विभागअन्तर्गत सञ्चालनमा रहेको राजश्व शाखालाई पुनर्संरचना गर्दै केही महिनाअघि एसएसपी उत्तम खनालको नेतृत्वमा ब्युरो स्थापना गरिएको हो। विभागका प्रमुख आईजीपी टेकेन्द्र कार्कीको पहलमा गठन भएको उक्त ब्युरोले स्थापना भएयता देशभर सूचना संकलन, विश्लेषण तथा निगरानीलाई तीव्र बनाएको स्रोतले जनाएको छ।


ब्युरोको मुख्य जिम्मेवारी सीमा नाकामा हुने भन्सार छली, राजश्व चुहावट तथा अवैध चोरी–पैठारीसम्बन्धी गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै गोप्य सूचना संकलन गर्नु रहेको बताइएको छ। सीमा क्षेत्रका संवेदनशील गतिविधि र भन्सार नाकामा हुने आर्थिक अनियमिततामाथि पनि विशेष निगरानी बढाइएको जनाइएको छ।
यसका साथै जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, मालपोत, नापी, यातायात, राजश्व तथा भन्सार कार्यालयलगायत विभिन्न सरकारी निकायमा हुने सम्भावित अनियमितता, भ्रष्टाचार तथा राजश्वसँग सम्बन्धित गतिविधिबारे सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारी पनि ब्युरोलाई दिइएको छ।
यस उद्देश्यका लागि राष्ट्रिय अनुसन्धान विभागले सिपाहीदेखि सहायक निरीक्षक (सई) दर्जासम्मका जनशक्तिलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तथा राजश्व चुहावट नियन्त्रण र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने विभागको लक्ष्य रहेको स्रोतले जनाएको छ।





