काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि जरिवाना नलगाएको स्पष्ट पारेको छ।


कार्यालयका अनुसार सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ट्राफिक जरिवानाकै कारण उनले आत्मदाह प्रयास गरेको भन्ने समाचार सार्वजनिक भएपछि घटनाबारे आन्तरिक रूपमा विवरण संकलन गरिएको थियो। अनुसन्धानका क्रममा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै जरिवाना नलगाएको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको पुष्टि भएको जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले तथ्यमा आधारित अनुसन्धान सम्पन्न हुनुअघि अनुमानका आधारमा भ्रम सिर्जना गर्ने किसिमका समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा आत्मदाहको प्रयास गरेका थिए। घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





