काठमाडौं । कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको छ। शिखा बुक्सद्वारा प्रकाशित कृतिको साहित्य, राजनीति तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थितिमा विमोचन गरिएको हो।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई सशक्त रूपमा अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो। उहाँका अनुसार केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् र यस सङ्ग्रहले समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान पुर्याउनेछ।


सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमसमेत भएको उल्लेख गर्दै यस कृतिले पाठकलाई नयाँ दृष्टिकोणका साथ समाजलाई हेर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेशकुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले पनि शुभकामना मन्तव्य तथा कृतिमाथि समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्याउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै ‘मृत्युगञ्जको मौनता’ ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी रूपमा उजागर गरेको धारणा राख्नुभयो।
शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्याउन लेखक, पाठक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले साहित्य प्रकाशनलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो। उहाँले ‘मृत्युगञ्जको मौनता’ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असंख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्दै पाठकको प्रतिक्रियाले आगामी सिर्जनालाई थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।





