Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको आपसी मतभेद, विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आह्वान गरेका छन्।

सिंगापुरमा थप उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो त्यागेर राष्ट्रिय एकता मजबुत बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन्।

स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं।’

उनले यस्तो नेपाल निर्माण गर्नुपर्ने बताए, जहाँ प्रत्येक बालकले निर्भीक भएर सपना देख्न सकोस्, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन पाऊन् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ अघि बढ्न सकोस्।

देउवाले सार्वजनिक पदमा रहेर काम गर्दा आलोचना र प्रत्यालोचना स्वाभाविक हुने उल्लेख गर्दै आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरेको दाबी गरे।

‘मैले सधैं भन्ने गरेको छु, मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो,’ उनले भने।

उनले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हितका साथै संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्नेछु। यी विषयमा कसैसँग मेरो सम्झौता हुन सक्दैन,’ देउवाले भने।

देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताए। ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु—विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भने।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको प्रसंग स्मरण गरे।

‘मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो समाजमा राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ देउवाले भने।

देउवाले नेपाली कांग्रेस एकताबद्ध भएर देशमा क्रियाशील अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले नेपाली कांग्रेस कसैको व्यक्तिगत इगो वा स्वार्थका आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech