Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध उठाएका विषय र बैठकमा भएको व्यवहारबारे ध्यानाकर्षण गराउन आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गरेका हुन्।

निर्वाचनका क्रममा प्रयोग हुने प्रहरीको पोसाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो। सोही उजुरीमाथि गत बुधबार समितिको बैठकमा छलफल भएको थियो।

बैठकमा सांसद सुनारले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर तथा लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको आरोप लगाएका थिए। उनले प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर पुनः प्रहरी प्रशासनभित्र सक्रिय रहेको र यसबाट अनियमितता मौलाएको दाबी गरेका थिए।

सांसद सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको दाबी गर्दै उक्त घटनामा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोपसमेत लगाएका थिए।

उनले आईजीपीमाथि प्रश्न उठिसकेको भन्दै छानबिनका लागि पदबाट हटाउनुपर्ने मागसमेत बैठकमा राखेका थिए।

बैठकमा सांसदहरूसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल सहभागी थिए।

समितिको बैठकमा उठेका आरोप र प्रश्नलाई लिएर प्रहरी नेतृत्व र सांसद सुनारबीच असहमति देखिएको थियो। जवाफ दिने क्रममा आईजीपी कार्कीले उजुरीका विषयमा स्पष्टीकरण दिन बोलाइनु स्वाभाविक भए पनि छलफलका क्रममा आफूहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको भन्दै असन्तुष्टि जनाएका थिए।

यही घटनापछि संसदीय समिति बैठकमा उठाइएका विषय, संसदीय मर्यादा तथा प्रहरी नेतृत्वसँग सम्बन्धित आरोपबारे स्पष्टता गराउन आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गरेको बताइएको छ।

यसअघि यही विषयमा गृहमन्त्री सुधन गुरुङले पनि उजुरी परेकै आधारमा सार्वजनिक पदाधिकारीलाई दोषी ठहर गर्दै उनीहरूको चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए।

गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा सुरक्षा अधिकारीहरूले सरकारको मर्मअनुसार काम गरिरहेको दाबी गर्दै आफू उनीहरूको कार्यसम्पादनको प्रत्यक्षदर्शी रहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech