बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक (असई) नवीन कुमार शाहीको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा बढैयाताल–२ फुटाहाका ५२ वर्षीय दिवे सुनारलाई पक्राउ गरेको हो।


ब्यूरोका अनुसार शुक्रबार दिउँसो करिब साढे ३ बजे फुटाहा नजिक फेला परेका सुनारको कानुनबमोजिम शरीर खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टको अगाडिको दाहिने खल्तीमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको थियो।
बरामद खैरो हेरोइनको शुद्ध तौल ३४९ ग्राम ३६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले सुनारको साथबाट एउटा मोबाइल फोन र नेपाली नगद ७ हजार रुपैयाँसमेत बरामद गरेको छ।
पक्राउ परेका सुनारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ।
विशेष सूचनाका आधारमा टोली परिचालन गरी ठूलो परिमाणमा खैरो हेरोइन बरामद गर्न सफल भएको भन्दै असई शाहीको कमान्डमा खटिएको प्रहरी टोलीको प्रशंसा हुन थालेको छ। लागूऔषध कारोबार नियन्त्रणमा सक्रियता बढाउँदै आएको ब्यूरोको पछिल्लो कारबाहीलाई ठूलो परिमाणको लागूऔषध बरामद भएको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।





