नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत बाँके प्रहरीले साउन २३ गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।


प्रहरीका अनुसार पक्राउ परेका २२ जनाबाट अदालतले तोकेको १ लाख ६७ हजार २०० रुपैयाँ जरिवाना असुल गरिएको छ। पक्राउ परेकाहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले कुल ४ वर्ष १ महिना १५ दिन कैद सजाय तोकेको थियो।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। फैसला कार्यान्वयनमा सक्रियता बढाइएसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रमसमेत बढेको प्रहरीको भनाइ छ।





