कोहलपुर, बाँके । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोहलपुर ०२ स्थित भरोसा एकेडेमीका शिक्षक तथा कर्मचारीले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले शिक्षक तथा कर्मचारीबाट संकलित रु. ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको एकेडेमीले जनाएको छ। सरकारले समेत भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।
भरोसा एकेडेमीकी प्रिन्सिपल लक्ष्मी केसीले विपद्को समयमा पीडित नागरिकप्रति मानवीय संवेदना देखाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको बताइन्।
“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व हो। हाम्रो सानो सहयोगले राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास लिएका छौँ,” प्रिन्सिपल केसीले भनिन्।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी छन्। प्रभावित नागरिकको तत्काल उद्धारसँगै राहत र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको सरकारले जनाएको छ। 
भरोसा एकेडेमीका शिक्षक–कर्मचारीले गरेको यो सहयोगले विपद्का बेला शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै पीडितको पक्षमा उभिनुपर्ने सकारात्मक सन्देश दिएको छ।







