काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेकी छन्।
खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लम्सालले खुला प्रतिस्पर्धातर्फ लोकसेवा आयोगको प्रक्रिया पार गर्दै प्रहरी निरीक्षक पदमा नियुक्ति पाएकी हुन्।


विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
१३औँ सागमा नेपालका लागि पदक जितेकी लम्साल लामो समयदेखि राष्ट्रिय ब्याडमिन्टन टोलीमा रहेर देशको प्रतिनिधित्व गर्दै आएकी चर्चित खेलाडी हुन्। ब्याडमिन्टनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलेकी उनले अब खेलकुदसँगै नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्।
खेलकुदमा हासिल गरेको अनुशासन, अनुभव र उपलब्धिलाई प्रहरी सेवामा समेत उपयोग गर्दै अघि बढ्ने अवसरले लम्सालको करियरमा नयाँ अध्याय थपिएको छ।
ब्याडमिन्टन कोर्टमा देशका लागि पदक जितेकी निता अब नेपाल प्रहरीको वर्दीमा राष्ट्रसेवाको मैदानमा उत्रिएकी छन्।





