कोहलपुर, बाँके ।रसुवा, धादिङ र नुवाकोट जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल लेखापढी व्यवसायी एसोसिएसन, इकाइ समिति कोहलपुर बाँकेले ५१,५००/- (अक्षरुपि एकाउन्न हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गरेको छ।
एसोसिएसनले बाढीपहिरोका कारण जिउधन तथा भौतिक संरचनामा भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ।
एसोसिएसन इकाइ समिति कोहलपुर बाँकेको २०८३ भदौ १५ गते बसेको कार्यसमिति बैठकले राहत रकम उपलब्ध गराउने निर्णय गरेको पत्रमा उल्लेख छ। सोही निर्णयअनुसार प्रधानमन्त्री राहत कोष, शाखा कार्यालय सिंहदरबार, काठमाडौंको खातामा रु. ५१,५०० (अक्षरुपी एकाउन्न हजार पाँच सय रुपैयाँ) राहतस्वरूप उपलब्ध गराइएको हो।
पत्रमा रसुवा, धादिङ र नुवाकोट जिल्लामा आएको अकल्पनीय तथा अप्रत्याशित बाढीपहिरोबाट नागरिकको ज्यान गएको तथा ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको उल्लेख गर्दै विपद्का बेला पीडितको साथमा उभिनुपर्ने सामाजिक दायित्वबोधसहित सहयोग गरिएको जनाइएको छ।
नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति कोहलपुर बाँकेका अध्यक्ष कल बहादुर मल्लको हस्ताक्षर रहेको पत्रमार्फत प्रधानमन्त्री राहत कोषमा रकम दाखिला गरिएको जानकारी गराइएको छ।
एसोसिएसनले गरेको यो सहयोगले विपद्का बेला सरकारी राहत प्रयासमा निजी क्षेत्र तथा पेशागत संघसंस्थाको सहभागिता र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







