Tuesday, November 24, 2026

 

कोहलपुर । लोकबाजा तथा नेपाली मौलिक लोकसंस्कृतिको संरक्षणसँगै लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले लोकगायक तथा लोकबाजा अभियन्ता सुशील गन्धर्वले देशव्यापी अभियान अघि बढाएका छन्।

कोहलपुर नगरपालिकाको अनुमति लिएर गन्धर्वले विद्यालय–विद्यालयमा पुग्दै लोकबाजा, लोकसंस्कृति र लागुऔषध दुर्व्यसनसम्बन्धी जनचेतनामूलक लोकभाका तथा गीत प्रस्तुत गर्दै आएका छन् र  त्यस अन्तर्गत आज  ज्ञान् ज्योति माध्यमिक बिधालय कोहलपुर १२ चपगौडिमा उक्त कार्यक्रम  सम्पन्न भएको हो । उनको अभियानअन्तर्गत देशभरका करिब ४५ हजार विद्यालयसम्म पुग्ने लक्ष्य लिएको बातएका छन् ।

लोकबाजा र मौलिक संस्कृतिको संरक्षणलाई नयाँ पुस्तासँग जोड्दै विद्यालय तहबाटै लागुऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको गन्धर्वले बताएका छन्।

पाठ्यपुस्तकमै समेटिएका ‘जीवित विभूति’

सुशील गन्धर्वको योगदान लोकबाजा र नेपाली लोकसंस्कृति संरक्षणमा मात्र सीमित छैन। कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा लोकबाजा तथा संस्कृति संरक्षणका क्षेत्रमा उनको योगदानलाई समेटिएको छ। नेपाली मौलिक लोकबाजा र संस्कृति संरक्षणमा सक्रिय व्यक्तिका रूपमा गन्धर्वले विद्यालय तहका विद्यार्थीमाझ समेत आफ्नो पहिचान बनाएका छन्।

लोकबाजाको संरक्षण, पुस्तान्तरण र यसको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने अभियानमा उनी निरन्तर सक्रिय छन्। विशेषगरी विद्यालयमा पुगेर गीत, संगीत र लोकभाकामार्फत सन्देश प्रवाह गर्ने शैलीले विद्यार्थीलाई मनोरञ्जनसँगै सचेतना प्रदान गर्ने अपेक्षा गरिएको छ।

लोकभाकामै लागुऔषधविरुद्ध सन्देश

लागुऔषध दुर्व्यसन बढ्दै जाँदा यसको असरबाट विद्यार्थी तथा युवापुस्तालाई जोगाउन विद्यालय तहबाटै सचेतना आवश्यक रहेको गन्धर्वको अभियानको मुख्य सन्देश छ।

किताबी भाषणभन्दा लोकगीत र लोकबाजामार्फत दिइएको सन्देश विद्यार्थीले सहज रूपमा ग्रहण गर्न सक्ने भएकाले उनले आफ्नो अभियानलाई संगीतसँग जोडेको बताएका छन्।

लोकबाजा संरक्षण र सामाजिक विकृतिविरुद्धको जनचेतनालाई एउटै अभियानमा जोड्दै गन्धर्वले अघि सारेको यो योजनाले नेपाली मौलिक संस्कृति संरक्षणसँगै युवा पुस्तालाई लागुऔषधबाट टाढा राख्ने सन्देश दिन खोजेको छ।

‘लोकबाजा बचाऔँ, संस्कृति जोगाऔँ र लागुऔषधबाट युवा पुस्तालाई बचाऔँ’ भन्ने मूल भावका साथ गन्धर्वको देशव्यापी अभियान अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर