झापा । झापाको बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य परीक्षण तथा औषधि बिक्री–वितरण गर्दै नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको छ।
बिर्तामोड नगरपालिका–५, बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे प्रहरीले छापा मारेको हो। छापा मार्ने क्रममा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।


नियन्त्रणमा लिइएकामध्ये इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पीताम्बर कट्टेलसहित २२ महिला र १९ पुरुष रहेका छन्।
प्रहरीका अनुसार कार्यालयबाट विभिन्न प्रकारका औषधि, स्वास्थ्य परीक्षण गर्ने मेसिन, महत्वपूर्ण कागजात तथा केही नगदसमेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा शैक्षिक परामर्श तथा तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसँग सहकार्य गरी ग्लोबल ओरियन्सले स्वास्थ्य परीक्षण तथा औषधि बिक्री–वितरण गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले ग्लोबल ओरियन्सले सञ्चालन गर्दै आएको गतिविधि कानुनी दायराभित्र भए–नभएको तथा सर्वसाधारणसँग गरिएको कारोबारका विषयमा समेत अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






